अछाम — दसैं–तिहार मनाउन गाउँ फर्किनेहरूका लागि आफन्तसँगको भेटघाट र पारिवारिक जमघटसँगै गाउँठाउँका पर्यटकीय गन्तव्य घुम्ने अवसर पनि बनेको छ । रोजगारी, अध्ययन र विभिन्न सिलसिलामा सहर तथा विदेश पुगेका स्थानीय चाडपर्व मनाउन घर फर्किएपछि अछामको रामारोशन पुग्नेहरूको चहलपहल बढेको छ । गाउँ फर्किएका कतिपयले घरपरिवारसँग भेटघाट गर्ने र आफन्तसँग रमाइलो गर्ने योजनासँगै रामारोशन घुम्ने योजना पनि बनाएर आउने गरेका छन् । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य रामारोशन प्राकृतिक सौन्दर्य, तालतलैया र हरियाली पाटनका कारण परिचित छ । यहाँका १२ वटा ताल र १८ वटा ठूला मैदानले यस क्षेत्रलाई विशिष्ट पहिचान दिएका छन् । प्रकृतिको अनुपम छटामा रमाउन, साथीभाइसँग समय बिताउन र परिवारसँग घुमफिर गर्न चाहनेहरूका लागि रामारोशन आकर्षक गन्तव्य बन्दै गएको छ । रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत पूर्णबहादुर विकका अनुसार दसैं मनाउन गाउँ फर्किएका कतिपयले रामारोशन पुग्ने योजना बनाएरै आउने गरेका छन् । ‘दसैंका लागि गाउँ आएकाहरू रामारोशन एकपटक पुग्नैपर्छ भन्ने योजना बनाएर आउँछन् । रामारोशनमा माहोल एकदमै छ । पारिवारिक रमाइलोका लागि आउनेको संख्या बढेको छ,’ उनले भने, ‘गाउँ फर्किएकाहरू साथीभाइसँग समूह बनाएर तथा परिवारसहित रामारोशन पुग्ने गरेका छन् । लामो समयपछि गाउँ फर्किएकाहरूलाई यो घुमफिर मात्र नभई आफ्नै ठाउँको प्राकृतिक सुन्दरता नजिकबाट नियाल्ने र पुराना सम्झना ताजा बनाउने अवसर पनि हो ।’